कोरोना संक्रमणबाट एक दिनमै ५५ जनाको मृत्यु, ७ हजार ६६० जना संक्रमित थपिए

काठमाडौं, बैशाख २१ । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ९मंगलबार० अहिलेसम्मकै धेरै ५५ जनाको ज्यान गएको हो। यो सँगै आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।

आज ७ हजार ६६० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।१७ हजार ७०२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आज एक हजार ७७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।आज १७४ जना आईसीयूमा उपचाररत रहेकोमा ७७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्