गण्डीका मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि, शुक्रबार मात्रै प्रधानमन्त्रीलाई भेटेका थिए

काठमाडौं, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ ।

आज आएको पीसीआर रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि भएको हो । उनले पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरेका थिए ।

यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । उनलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा तानिएका छन्। प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए।

उक्त बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य सहभागी थिए।

यसअघि मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। काठमाडौंमा भेटघाट गरेर उनी शनिबार पोखरा फर्किएका थिए।

 

प्रतिक्रिया दिनुहोस्