कोरोना महामारीः होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?

काठमाडौं, बैशाख २३ । नेपालमा बिहीबारसम्म कोभिड–१९ बाट संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

अस्पतालहरुमा आइसोलेसन आईसीयू, एचडीयू, भेन्टिलेटरलगायत बेडहरु भरिँदै गएपछि सरकारले जटिल अवस्थाबाहेकका संक्रमितलाई अस्पताल भर्ना नहुन अनुरोध गर्दै आएको छ । यो अवस्थामा लामो समयसम्म घरमै आइसोलेसनमा बस्दा संक्रमितहरुमा धेरै मानसिक परिवर्तन तथा तनाव देखिनसक्छ । यस्तो अस्वथामा के गर्ने रु

सरकारले होम आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुका लागि घरबाटै परामर्श र उपचारका विभिन्न सेवा लिन सम्बन्धित विशेषज्ञहरुको सम्पर्क नम्बर उपलब्ध गराएको छ । ती नम्बरमा सम्पर्क गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्न सकिन्छ भने परामर्श सेवा पनि लिन सकिन्छ । संक्रमितको अवस्था हेरेर फलोअप कल तथा दैनिक परामर्श सेवा पनि दिइने सेवामा संलग्न डा। रोशन ढकाल बताउँछन् ।

पुरानै स्वास्थ्य समस्या भएका तथा दीर्घरोगीहरु संक्रमित भएमा असर छिटो तथा कडा रुपमा देखिन सक्छ । त्यसैले यस्ता संक्रमितहरु चिकित्सकको सम्पर्कमा निरन्तर रहिरहन तथा केही सामान्य अवस्थामा पनि नआत्तिन डा। ढकाल सुझाव दिन्छन् । सामान्यतया होम आयसोलेसनमा रहेका बेला यी कुराहरु ख्याल गर्न डा। ढकालको सुझाव छ ।

के गर्ने ? 
१. कन्ट्याक ट्रेसिङबाट संक्रमण पुष्टि भएका सामान्य संक्रमित होम आइसोलेसनमा बस्ने ।
२. समय–समयमा ज्वरो, अक्सिजनको मात्रा र श्वासप्रश्वासको मात्रा जाँच गरिरहने ।
३. १०३ डिग्रीभन्दा बढी ज्वरो र नियमित औषधि खाइरहँदा पनि ज्वरो निको नभएमा नजिकैको अस्पताल जाने ।
४. अक्सिजनको मात्रा ९० भन्दा कम र श्वासप्रश्वासको गति ४२ भन्दा कम प्रतिमिनेट भएमा अस्पताल जाने ।
५.अक्सिमिटरको प्रयोग गर्दा ग्राफ राम्रोसँग चलेरनचलेको याद गर्ने ९नेल पोलिस लगाएको या अन्य कारणले पनि सही अक्सिमिटरले सही ग्राफ नदेखाउन सक्छ ० यस्तो भएमा नआत्तिई चिकित्सकसँग सम्पर्क गर्ने ।
६. खानपान र पोषणमा विशेष ध्यान दिने, झोलिलो खानेकुरा धेरै खाने र पानी प्रशस्त पिउने, सुत्ने–उठ्ने समयको रुटिन बनाउने ।

के नगर्ने ?
१. कोभिडका सामान्य लक्षण देखिँदैमा अस्पताल जान हतार नगर्ने ।
२.चिकित्सकको सल्लाहबिना सञ्चारमाध्यमहरुमा हेरेको, पढेको वा कसैले भनेको आधारमा औषधिको प्रयोग नगर्ने । यसो गर्दा कहिलेकाहीँ संक्रमितको स्वास्थ्यमा नकारात्मक तथा गम्भीर असर पर्न सक्छ ।
३. विभिन्न सञ्चारमाध्यममा आएका नकारात्मक सामग्रीहरु नहेर्ने, नपढ्ने र भ्रामक सामग्रीका आधारमा मानसिकता नबनाउने ।

मानसिक स्वास्थ्यको ख्याल गर्न जरुरी

कोभिड संक्रमण भएर घर बसिरहँदाको अवस्थामा सबैभन्दा पहिलो कुरा मानसिक रुपमा बलियो रहन मनोविद्हरु सुझाउँछन् । यो विश्वव्यापी महामारी भएकाले म नै किन संक्रमित भएँ भन्ने भावनालाई सबैभन्दा पहिले मनबाट हटाउनु जरुरी रहेको उनीहरुको भनाइ छ ।

पाटन मानसिक अस्पतालकी क्लिनिकल साइकोलोजिष्ट डा। तृष्णा विष्ट कुँवर भन्छिन्, “यो सबैलाई परेको समस्या हो र म संक्रमणलाई जितेर अघि बढ्न सक्छु भन्ने भाव जगाउनु महत्वपूर्ण कुरा हो ।”

त्यस्तै, सूचना तथा सञ्चारमाध्यमको प्रयोग गर्दा नकारात्मक सन्देश दिने खालका मृत्यु, हिंसालगायत सामग्रीहरु नहेर्न र सामाजिक सञ्जालमा आएका यस्ता सामग्री अभोइड गर्न पनि कुँवरको सुझाव छ ।

सामान्य अवस्थामा घर–परिवार र बालबालिकासँग घुलमिल भइरहने व्यक्ति संक्रमित भएमा संक्रमितमा मानसिक तनाव थपिन सक्छ । यस्तो अवस्थामा परिवारसँग भर्चुअल मध्यमाबाट सम्पर्कमा रहिरहन र सकेसम्म एक्लै समय नबिताउन मनोविद्को सुझाव छ ।

भक्तपुर प्रादेशिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा। कञ्चन दाहाल भन्छन्, “यो समयमा घरभित्रै बसेर रचनात्मक कामहरुमा आफूलाई व्यस्त बनाउन सकिन्छ । संक्रमितको अवस्था सामान्य रहेमा अरु बेला समय नपाएर गर्न नभ्याएका घरभित्रैका काम गर्न सकिन्छ । विशेषगरी बालबालिकाको हकमा उनीहरुलाई एकै ठाउँमा राखिरहन गाह्रो हुने भएकाले उनीहरुका रुचिका वस्तुहरु नजिकै राख्दिन सकिन्छ । त्यसमा उनीहरुलाई मनपर्ने खेलौना, किताब, पेन्टिङ आदि हुनसक्छन् । यो अवस्थामा सूचनाको नियन्त्रणमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । जस्तै, बालबालिकालाई भुलाउने बहानामा उनीहरुको मस्तिष्कमा असर पर्ने, गालीगलौज गरिएका, नकारात्मक शब्दहरु बोलिएका, हिंसालगायत सामग्री हेर्न र पढ्न दिनु हुँदैन ।”

त्यस्तै, वयस्क उमेर समूहका व्यक्तिले पनि मनोबल घटाउने तथा तथ्यहीन सामग्रीहरु नहेर्न सुझाव दिन्छन्, डा। दाहाल । साथै, महामारीको समयमा संक्रमितबाहेक अन्य सामान्य व्यक्तिहरुमा पनि मानसिक तनाव देखिन सक्ने भएकाले सजग र सतर्क हुनुपर्ने तर आत्तिन भने नहुने डा. दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्