तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिन्छ: उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बतााएका छन् ।

बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताए ।

काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उनले यदि त्यस्तो भेटिए कारबाही गर्ने बताएका हुन् ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि तीन किसिमको शुल्क तोकेको छ । सामान्य बिरामीका लागि ३५ सय प्रतिव्यक्ति प्रतिदिन, अक्सिजन चाहिने बिरामीका लागि ७ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिन र जटिल बिरामीहरूका लागि १५ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिन तोकेको छ ।

यो सबै रकम सरकारले अस्पताललाई शोधभर्ना गर्नेछ । यदि कसैले आफ्नै खर्चमा उपचार गराउन चाहेमा अस्पतालले तोकिएको शुल्कको बढीमा १० प्रतिशत बढाएर मात्र शुल्क लिन पाउने नियम बनाएको छ । साथै सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्