प्रधानमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग, दियो आयोगमा उजुरी

काठमाडौँ, जेठ ६ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरेको छ ।

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा पनि प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।

कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार बिहीबार आयोगमा उजुरी दर्ता गराएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रियसभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापालाई मत मागेका थिए।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि बुधबार साँझ एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्