माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ, जेठ ८ । नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेससहित माओवादी केन्द्र, जसपा ९यादव–भट्टराई पक्ष० का साथै नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर, नेपाल पक्षका केही सांसदले भने आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका थिए ।

यी हुन् स्पष्टीकरण सोधिएका ११ सांसद

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान ।

प्रतिक्रिया दिनुहोस्