आजदेखि निषेधाज्ञामा थप कडाइ, अटेर गरे ५ लाख जरिवानादेखि जेलसम्म

काठमाडौँ, जेठ १४ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा पछिल्लो समय थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । लागू निषेधाज्ञामा यसअघिको भन्दा कडाइ गरिएको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यो निषेधाज्ञा थप कडा बनाइएको बताए । नयाँ नियमअनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर पनि पूरै बन्द हुनेछन् । यसअघि बिहान १० बजेसम्म यी पसल खुलिरहेका थिए । फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल यसअघि झैँ बिहान बजेसम्म खुल्ने छन् ।

मालवाहक सवारीसाधन आवागमन नियन्त्रण गर्ने, बैंक तथा वित्तीय संस्था सञ्चालनमा कोटा निर्धारण गरिने, स्वास्थ्य र अन्य तोकिएकालाई जुनसुकै बेला र बाँकी अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुनेलगायत आदेश जारी गरिएको छ । अत्यावश्यकबाहेकका सरकारी कार्यालयबाट हुने सेवा पनि स्थगन गरिएको छ ।

यहीबीच गत बिहीबार स्वास्थ्य आपत्काल र अन्य कडा प्रावधानसमेत लागू गर्न सकिने गरी कोभिड संक्रमण नियन्त्रणसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । अध्यादेशमा आदेश उल्लंघन वा अटेर तथा काममा अवरोध पुर्‍याए ५ लाखसम्म जरिवाना र १ वर्षसम्म कैद गर्नेसम्मको अधिकार प्रजिअलाई दिइएको छ ।

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उलंघन गर्नेलाई २ सय जरिवाना लाग्ने छ। त्यस्तै, सवारी साधन आवतजावतमा रोक लगाएको अवस्थामा अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना गराउने अध्यादेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्