विश्वकप छनोट फुटबलः नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, जेठ २०। फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९: ४५ बजे सुरु हुनेछ ।

ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जितसहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताइपेइ ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

चाइनिज ताइपेइविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् ।

पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० ले खेल जितेको थियो ।

४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्