मधेसलाई मरुभूमि बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन : कमल थापा

काठमाडौं, जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निकासी गरी मधेसलाई मरुभूमि बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भन्ने सरकारी नीतिले सर्वत्र आशंका र चिन्ता पैदा भएको पनि उल्लेख गरेका छन् । यसले उत्पन्न भएका भ्रमबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्ने पनि उनले बताएका छन् ।

उनले भने, ‘खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ ।’ उनले अगाडि भनेका छन्, ‘वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्री मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्