नागरिकता अध्यादेशविरुद्ध मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं , जेठ २१ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथिको शुक्रबारको सुनुवाइ सकिएको छ। मुद्दाको सुनुवाइ बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

राणाले आजै आफूसहित प्रधानन्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। लगत्तै तत्काल अध्यादेश कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहित अधिवक्ता विष्णुकुमारी गिरी,रामबहादुर शाहीलगायतले सर्वोच्चमा रिट दिएका थिए।

नयाँ जारी गरेको नागरिकता अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने र नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ।

यसअघि प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलासमाथि विवाद उठेको थियो। त्यसपछि प्रधानन्‍यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिएका थिए। संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्