प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा समस्या: संवैधानिक इजलास स्थगित

काठमाडौं, जेठ २४ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुँने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा बिरामी भएपछि आज संवैधानिक इजालास स्थगित भएको सर्बोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश जवरा के बिरामी परे भन्नेबारे केही खुलाइएको छैन ।

संवैधानिक इजलासको पेशी अब बुधबार मात्रै तोकिनेछ । गत शुक्रबारदेखि प्रतिनिधिसभा विघटन मुद्दाको बहस सुरू भए पनि संवैधानिक इजलास गठनमा भएको विवादले मुल विषयमा प्रवेश पाएको छैन ।

पहिले गठित इजलासमा राखिएकै न्यायाधीश आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीलाई फेरि दोहोर्‍याएपछि सरकारी पक्षले प्रश्न उठाएको छ ।

महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक निष्पक्षता हुन नसक्ने तर्क गरेपछि इजलास विवाद भएको थियो ।

प्रधानन्यायाधीश जबराले भने इजलासको मर्यादा नराखे अवहेलनामा कारबाही हुने चेतावनी दिएका थिए ।

प्रधानन्यायाधीश जबराले आइतबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।

यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्