अध्यक्ष ओलीको प्रस्ताव माधव समूहद्वारा अस्वीकार

काठमाडौं, जेठ २३ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकताका लागि आइतबार अघि सारेको ६ बुँदे प्रस्तावलाई माधव नेपाल समूहले अस्वीकार गरेको छ।

अध्यक्ष ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव अघि सार्दै एमाले एकताका लागि आव्हान गरेपछि सोमबार माधव समूहको स्थायी कमिटी सदस्यहरुको छलफल भएको थियो। सो छलफलले अध्यक्ष ओलीको प्रस्तावलाई अस्वीकार गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘ओली कमरेडले जुन प्रस्ताव ल्याउनु भएको छ। त्यसले पार्टी एकता गर्ने संकेत गर्दैन भन्ने निष्कर्ष रह्यो। प्रस्तामा हाम्रो सहमति छैन।’ उनले आफ्नो समूहभित्र एकमतले अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गर्ने निर्णय भएकोसमेत जानकारी दिए।

अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि आव्हान गर्दै पार्टीलाई २०७५ जेठ ३ पूर्वअनुसार सञ्चालन गर्ने, जिल्ला कमिटीहरुका लागि कार्यदल बनाएर सोही अनुसार जिम्मेवारी दिने, काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरेर सर्वोच्च अदालतमा दायर रिटमा गरिएको अस्ताक्षर फिर्ता लिनेलगायतका प्रस्ताव राखेका थिए। माधव समूहले जेठ ३ पूर्वको अवस्था नभई जेठ २ पूर्वको अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने बताउँदै आएको छ।

उता अध्यक्ष ओलीको ६ बुँदे प्रस्तवलाई माधव समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले स्वागत गरेका थिए। भट्टराईले आइतबार नै सो प्रस्ताव स्वागत गरेका थिए। तर, सोमबार भएको स्थायी कमिटी सदस्यहरुको छलफलमा एकमतका साथ अध्यक्ष ओलीको प्रस्तव अस्वीकार गर्ने निर्णय भएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्