काठमाडौंमा असारदेखि सवारीसाधन जोर–बिजोरमा सञ्चालन हुन सक्ने

काठमाडौं , जेठ २५ ।काठमाडौं उपत्यकामा सोमबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार ३२४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो १६ दिनयता संक्रमण र मृत्युदर भने घट्दो क्रममा छ । यसैबीच काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञा लगाएर जनजीवन केही सहज बनाउने सम्भावना बढेर गएको छ । कोरोना संक्रमणको दर घट्दै गएकाले असारदेखि आंशिक निषेधाज्ञा लागु हुन सक्ने सम्भावना बढेर गएको हो ।

स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेर जोखिमको अवस्थाको विश्लेषण गर्दै कतिपय क्षेत्रमा खुकुलो बनाउने तयारीबारे अनौपचारिक छलफल चलिरहेको छ ।

प्रहरी अधिकारीहरु अहिलेकै अवस्थामा संक्रमण दर घट्दै गए असारको सुरुवात वा पहिलो साताको अन्त्यबाट सवारीसाधनमा जोर–बिजोर लागु हुन सक्ने सम्भावना रहेको बताउँछन् । यद्यपि, यसमा सार्वजनिक सवारी चल्न दिने वा नदिने टुंगो छैन । तर, ट्याक्सी, निजी सवारीसाधन भने चल्ने सम्भावना छ ।

यसबाहेक अन्य क्षेत्रसमेत खुकुलो बनाउने तयारी छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि जेठ मसान्तसम्म निषेधाज्ञा जारी छ ।

गृह मन्त्रालयले जिल्लाले चुनौतीको विश्लेषण गरेर निषेधाज्ञा खोल्न सकिने जनाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु भने निषेधाज्ञाको समय बाँकी नै रहेकाले अहिले नै औपचारिक छलफल नभएको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्