मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

काठमाडौं, जेठ २६ । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदांगगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९, सुनखानीमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मंगलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्