३२ हजार पाँच सय मेट्रिक टन मल बंगलादेशबाट वीरगञ्ज आइपुग्यो

काठमाडौं, जेठ२६ख । बंगलादेबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बंगलादे सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले बताए । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छन ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रवन्धक केसीले बताए । उनका अनुसार बाँकी रहेका मल छिटै नै उपलब्ध गराउन नेपाल सरकार तथा बंगलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बंगलादेबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिक टन, डिएपी एक हजार ४०२ मेट्रिकटन र पोटास एक हजार २८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

पर्सा जिल्लास्थित १३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा १३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ । कतिपय विक्रेताले किसानसंग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने माग किसानको छ । पर्सामा ९० प्रतिशत किसान व्यवसायिक रुपमा धान खेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्